दफा
ठेक्का दिने वा नदिने नेपाल सरकारको अधिकार

(१) दफा ५ अन्तर्गत प्रकाशित सूचना बमोजिम दाखिल भएको कुनै वा सबै टेण्डर वा बोलेको कुनै वा सबै डाँक नेपाल सरकारले कुनै कारण देखाई वा नदेखाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।

तर कुनै रकमको ठेक्का बन्दोवस्त गर्दा–

(क) सो रकम बापतको रूपैयाँ गनी महसूलको रूपमा बुझाउन कबूल गर्नेले गनी किस्तामा कबूल गर्ने भन्दा सयकडा डेढ र किस्ताबन्दीमा कबूल गर्ने भन्दा सयकडा तीनसम्म कम कबूल गरेको रहेछ भने पनि सो गनी महसूलमा लिन कबूल गर्ने टेण्डर वा डाँकलाई यस उपदफा बमोजिम टेण्डर वा डाँक स्वीकृत गर्दा प्राथमिकता दिइनेछ ।

(ख) खण्ड (क) मा लेखिएको अवस्थामा वाहेक गनी किस्ताको रूपमा सो रुपैयाँ बुझाउन कबूल गर्नेले किस्ताबन्दीको रूपमा बुझाउन कबूल गर्ने भन्दा सयकडा डेढसम्म कम कबूल गरेको रहेछ भने पनि सो किस्ताबन्दीमा कबूल गर्ने भन्दा गनी किस्तामा कबूल गर्नेलाई यस उपदफा बमोजिम टेण्डर वा डाँक स्वीकृत गर्दा प्राथमिकता दिइनेछ ।

(१क) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि, कुनै ठेक्काका सम्बन्धमा कुनै नेपाली नागरिकले गनी महसूल, गनी किस्ता वा किस्ताबन्दी मध्ये जुनसुकै रूपबाट ठेक्का वापतको रुपैयाँ बुझाउने कबूल गरेको भए पनि, निजले बुझाउन कबूल गरेको रुपैयाँकै बरावर वा सोभन्दा कम अंकमा सो ठेक्का कबूल गर्ने गैर नेपाली नागरिकलाई सो प्रतिबन्धात्मक वाक्यांशहरूमा लेखिए बमोजिमको प्राथमिकता दिइने छैन ।

(२) उपदफा (१) बमोजिम सबै टेण्डर वा डाँक अस्वीकृत गरिएकोमा नेपाल सरकारले फेरि टेण्डर आमन्त्रित गरी वा बढाबढ वा घटाघट गराई ठेक्का बन्दोवस्त गर्न सक्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले मनासीब ठह¥याएमा अघि टेण्डर दिने वा डाँक बोल्नेहरुको टेण्डर वा डाँक कायमै राखी पुन टेण्डर आमन्त्रित गर्न वा बढाबढ वा घटाघट गराउन पनि सक्नेछ र सो बमोजिम अर्कोपटक दाखिल भएको टेण्डर वा बोलेको डाँक र अघिल्लो टेण्डर वा डाँकको विचार गरी अघिल्लो वा पछिल्लो कुनै टेण्डरवाला वा डाँक बोल्ने व्यक्तिसित ठेक्का बन्दोबस्त गर्न सक्नेछ । तर त्यसरी फेरि टेण्डर आमन्त्रित गर्ने वा बढाबढ वा घटाघट गराउने निर्णय गरिएकोमा अघि टेण्डर दाखिल गर्ने वा डाँक बोल्ने कुनै व्यक्तिलाई चित्त नबुझे आफ्नो टेण्डर वा डाँक खारेज होस् भनी दरखास्त दिन आउनु भनी बाटामा लाग्ने समयको समेत अन्जाम गरी मनासिव म्याद तोकी सूचना जारी गर्नुपर्छ र सो म्याद वा टेण्डर दाखिल गर्न वा बढाबढ वा घटाघट गराउन अर्को पटक निर्धारित गरिएको दिनसम्मको म्याद मध्ये जुन म्याद बढी दिनको हुन्छ सो म्यादभित्र कसैको त्यस्तो दरखास्त परेमा निजको टेण्डर वा डाँक खारेज गरिदिनुपर्छ र सो बमोजिम भएकोमा त्यस्तो टेण्डर वा डाँक अस्वीकृत भए सरह डिपोजिट फिर्ता दिनुपर्छ । सो म्याद भित्र त्यस्तो दरखास्त नदिने टेण्डरवाला वा डाँक बोल्ने व्यक्तिले आफ्नो टेण्डर वा डाँकको अंक पछिल्लो पटकको लागि पनि कायमै राख्न मञ्जुर गरेको मानिनेछ ।